काठमाडौं –जनयुद्धकालिन मुद्धामा डिल्लीबजार कारागारमा बन्दी जीवन वितारइरहेका माओवादी नेता बालकृष्ण ढुङ्गेलसँग केहीदिन अघि भेट भयो ।
कारागारमा ढुङगेललाई भेट्न जाँदा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रंजित तामाङको टोली र लिम्बुवान आन्दोलनका नेता संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनसँग पनि अचानक भेट हुन पुग्यो ।
डिल्लीबजार कारागार परिषरमा भावुक मुद्रामा भेटिएका बालकुष्ण ढुङ्गेलसँग मेरो पुरानै चिनजान थियो । तर, भेटका दिन ढुङगेल भावुक मुद्रामा थिए । हामीबीच औपचारिक कुरा सुरु भयो । भेटपछि उनैले कुरा सुरु गरे । भने ‘म सारै निराश छैन, यो ठाउँ(कारागार) जिउदै ल्याएर जिउदै पठाउने ठाउँ हो । श्रीपेच लगाउनेविरुद्ध लड्दा अपराधी सावित हुनुपर्ने अवस्था छ, अन्याय भए टोपी लाउनेविरुद्ध पनि लड्न तयार छु ।’
ढुङगेल सुगर, प्रेसर, कोलस्टोरका विरामी हुन् । दिनमा १३ प्रकारका औषधी १३ पटक खान्छन् । मुटुले ३० र मृगौला २५ प्रतिशत मात्रै काम गरिरहेको छ । ज्यान मुद्धामा परेकाहरूले ४० प्रतिशत कैद सजाय भोगिसकेपछि ६० प्रतिशतसम्म छुट हुनसक्ने कानूनी व्यवस्था छ ।
‘जेठ १५ सम्म छुट्न सक्छु । सरकारले निर्णय गरेको खण्डमा त्यो भन्दा अगाडि पनि निस्कन सक्ने अवस्था छ’ ढुङगेलले यसो भनिरहँदा उनका आँखाका परेला आँशुले भिजिसकेका थिए । ‘मन्त्रीमण्डल विस्तारपछि बर्षमान पुनसँग फोनमा कुराकानी भएको ढुङगेलले सुनाए । तर, गृहमन्त्री रामबहादुर थापा (बादल) सँग भने सम्पर्क हुन नसकेको उनले सुनाए । भने ‘ गृहमन्त्रीका स्वकीय सचिवले फोन काटिरहेका छन् । हाम्रा देशका मन्त्रीका सहयोगिहरु मन्त्रीभन्दा २ तह माथिका आफुलाई ठान्छन्, भेट्न र बोल्न पनि पाइँदैन ।’
ढुङ्गेललाई जनयुद्धकालिन ओखलढुङ्गका उज्जनकुमार श्रेष्ठ हत्याको अभियोग लागेको छ । २०५५ असार १० गते भएको उक्त घट्नाका सम्बन्धमा सर्वोच्च अदालतले २०६६ पुस १९ गते दोषि ठहर गरेको थियो । उनलाई गएको कार्तिक १४ गते प्रहरीले नियन्त्रणमा लिएर डिल्लिबजार कारागारमा राखेको छ । तर, जेल सजाँय भोगिरहेका ढुङ्गेल आफू सो घट्नामा संलग्न नभएको बताउँदै आएका छन् ।
रेशमले भने–म निर्दोष व्यक्ति हुँ
सोही दिन प्रहरी नियन्त्रणमै रहेर उपचाररत थारुवान आन्दोलनका नेता तथा सांसद रेशम चौधरीसँग पनि वीर अस्पतालको आइसियु कक्षमा भेट भयो । भेटेर कुराकानी भएको केही बेरमा फलामको साङ्लो देखाउदै चौधरी भन्दैथिए ‘यो मेरो खुट्टामा लगाइने नेल हो ।’ म निर्दोष व्यक्ति हुँ । टिकापुर घट्नाको दिन म बर्दियामा थिएँ । अदालतको एउटा पत्रको भरमा हाजिर हुन गएको व्यक्तिलाई नेल लगाउन पाइन्छ ? यो नेल मेरो खुट्टामा लागिरहने हो भने कैलालीमा फेरि आगो बल्छ ।’
चौधरीले आफु थरूवान राज्य प्राप्त नभएसम्म जेलनेल भोग्न तयार भएको पनि दोहोर्याए । चौधरी केलाली क्षेत्र नम्बर १ का राजपाकातर्फबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । निर्वाचन आयोगबाट तत्काल निर्वाचित प्रमाणपत्र र सपथ खान पाउनुपर्ने चौधरीको माग छ । राष्ट्रपति र संघीय संसदको सभामुखको निर्वाचनमा भोट लाउन नदिएर आफ्नो अधिकार हनन भएकोप्रति पनि चौधरीले कडा आपत्ति जनाए ।
उनले भने ‘हजारौ थारुहरूको घरमा आगो लगाउने र सम्पत्ति लुट्नेहरू कहाँ छन् ?’ ‘के उनीहरू राज्यको नजरमा अपराधी होइनन ?’ आन्दोलन र निर्वाचनबारे अनुभव सुनाउदै चौधरीले भने ‘आन्दोलनमा जनताले नेतृत्वको निर्णय खोज्दारहेछन ।’ तर, मसँग त्यसवेला चुनाव लड्ने पैसा पनि थिएन । एकजना जिल्ला नेताले पम्प्लेट प्रकाशन गर्ने पैसा छैन कसरी चुनाव लड्ने भनेर प्रश्न गरेको अहिले पनि उनी सम्झन्छन् ।
‘तरपनि पार्टीले चुनाव चिन्ह छाता राख्ने निर्णय गरेपछि जनता स्वयंमले कैलाली १ छातैछाताले भरिदिएछन् । तिनै जनताले मत दिएर निर्वाचन जनताले जिताए ।’ उनले निर्वाचनका समयको स्मरण गरे ।
‘तर, यसरी जनताले जिताउको प्रतिनिधिलाई राज्यले खेदो गरिरहेको छ । यस्तै हो भने देशले दुःखद घट्ना बेहोर्नुपर्छ ’ उनको भनाई थियो । कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै चौधरी अनसन बसेका थिए । त्यहि क्रममा उनलाई उपचारका लागि काठमाडौंको वीर अस्पताल ल्याइएको थियो ।
अनसनरत चौधरीलाई गत चैत्र २ गते गृहमन्त्री रामबहादुर थापा (बादल)आफै अस्पताल पुगेर जुस पिलाएर अनसन पनि तोडाए । चौधरीको अनसन तोडाउन राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतको टोली अस्पताल पुगेको थियो ।
चौधरीले टिकापुर घट्नाका २६ जना अरोपीलाई क्षतिपूर्तिसहित रिहाइको माग गर्दै आएका छन् । अदालती प्रकृया बाहेक चौधरीका माग पुरा गर्ने सर्तमा अनसन तोडाइएको सरकारी निकायले जनाएको छ । २०७२ भदौं ७ गते भएको कैलालीको टिकापुर घट्नाको दोषि भनिएका चौधरी फागुन १४ गते जिल्ला अदालत कैलालीमा आफै हाजिर हुन पुगेका थिए ।
प्रतिक्रिया