काठमाडौं - नेपालमा ५२ देशबाट प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७६/७७ ले यस्तो देखाएको हो ।
उक्त प्रतिवेदन अनुसार नेपालको जलबिद्युत क्षेत्रमा २७ प्रतिशत बिदेशी लगानी रहेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये १९८ कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानी सम्वन्धी सर्वेक्षण प्रतिवेदन तयार पारेको केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ५२ करोड पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंक ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत छ ।
२०७७ असार मासान्तसम्मा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ६३ अर्ब ४५ करोड, चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
प्रत्यक्ष वैदेशिक लगानीमध्य ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा आएको छ । औद्योगिक क्षेत्रमा मध्ये पनि २८.३ प्रतिशत उत्पादनमुलुक क्षेत्र र २७.५ प्रतिशत जलविद्यूत क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया