गुल्मीमा अलपत्र पर्‍यो ६० करोडको अन्तराष्ट्रिय रङ्गशाला, ५ करोड चौर खन्दा सकियो

४ बर्ष अगाडि

नेपालका प्रथम सहिद लखन थापाको नाममा गुल्मीमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । 

इस्मा गाउँपालिका–६ राङदलचौरमा  १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको रङ्गशाला बजेट नहुँदा अलपत्र परेको हो । रङ्गशालाका लागि ५ करोड खर्च भईसकेको छ । जसबाट फिल्ड सम्याउने  र वाल उठाउने काम सम्पन्न गरी दुबो रोपिएको छ । 

त्यसपछि बजेट विनियोजन नहुँदा प्यारापिट निर्माणसहित अन्य भौतिक संरचना निर्माणको काम अगाडि बढ्न सकेको छैन । फिल्डमा नाली बनाउने, फिल्ड घेरबार गर्ने, ट्वाइलेट ब्लक र गार्ड रूम निर्माण गर्न १ करोड ५५ लाख रुपैयाँको ठेक्का सुनकोसी अभियान जेभीलाई परेको छ तर ठेक्का परेको एक वर्ष पुग्दासमेत सम्झौता हुन सकेको छैन । 

सुनकोसीका सञ्चालक गणेश आचार्यका अनुसार खेलकुद मन्त्रालयबाट सम्झौता हुन नसक्दा काम रोकिएको छ । केपी ओली नेतृत्वको सरकार हुँदा जति धाए पनि बजेट नभएको भन्दै फर्काइदिएको उनले सुनाए । ‘पहिलो चरणको काम मंसिरमा सकिएपछि दोश्रो चरणको कामका लागि ठेक्का हामीलाई परेपनि पुरानो सरकारले सम्झौता गर्नै मानेन’, उनले भने,  ‘अहिले मन्त्री नभएकाले फाइल अगाडि बढेन ।’

तम्घासदेखि २० किमि दूरीमा निर्माणाधीन उक्त रङ्गशालामा ७ हजार दर्शक क्षमताको बनाउने लक्ष्य छ । प्यारापिट निर्माण लगायतको काम गर्न ६० करोड रुपैयाँ लाग्ने इस्टमेट गरिएको थियो ।

गाउँमा रङ्गशाला निर्माण हुने भएपछि खेलाडीसहित जिल्लावासीमा खुसीयाली छाएको भएपनि बजेट नआएपछि अहिले काम ठप्पै भएको इस्मा गाउँपालिका–६ का वडाध्यक्ष हीराबहादुर जीसीले बताए । ‘ग्रामीण भेगमा निर्माण हुन लागेको रङ्गशालालाई संघीय सरकारले बजेट रोक्नुहुँदैन,’ उनले भने, ‘कतै अलपत्र पर्ने हो कि भन्ने चिन्ता लागेको छ ।’ 

ठूला खेल प्रतियोगितामा आउने खेलाडी र दर्शकलाई खान र बस्नका लागि स्थानीय सरकारले गाउँमा होमस्टे निर्माण गरी गरिब तथा विपन्न परिवारको आर्थिक स्थिति सुधार्ने योजना बनाएको वडाध्यक्ष जीसीले सुनाए । ‘संघ सरकारले रङ्गशाला निर्माण गरिदिए, घरैपिच्छे होमस्टे, स्थानीय खानाका परिकारका लागि कोदोलगायत बाली उत्पादनमा वृद्धि ल्याउने तयारीमा छौं,’ इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर विष्टले भने, ‘पूर्कोटदहमा ठूलो ताल निर्माण गर्ने र खेलसँगै पर्यटकीय हब बनाउने लक्ष्य हो ।’

गुल्मीमा पहिलो अन्तर्राष्ट्रिय मापदण्डअनुसार रङ्गशाला निर्माण हुन लागेको राष्ट्रिय खेलकुद परिषद्का प्राविधिक माधव देवकोटाले बताए । यस रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका सबै खेल हुने उनले बताए । ग्रामीण बस्तीका बेरोजगार युवाहरू कृषि उत्पादन, खसीबोका, रैथाने कुखुरालगायत पशुपालन, होटल तथा होमस्टेबाट र खेल पर्यटनबाट स्वरोजगार बन्ने आशा गरिएको छ ।

रङ्गशाला निर्माणको दोस्रो चरणको कामका लागि एकवर्षदेखि नै अर्थ मन्त्रालयले बजेट रोकिदिएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले बताए । बजेटको छिनोफानो भएपछि रङ्गशाला निर्माणका लागि बजेट उपलब्ध हुने र बजेटका कारण रोकिएको रङ्गशालाको काम अगाडि बढ्ने उनको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया