एमसीसी हामीले अघि बढाउन खोजेकै हो, सभामुखका कारण रोकियो : ओली

४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  आफ्नो सरकारले अगाडि बढाउन खोजेपनि सभामुखका कारण रोकिएको बताएका छन् । 

नेपाल भ्रमणमा रहेकी एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग भएको  शिष्टाचार भेटवार्तामा ओलीले आफू सरकारमा हुँदा दुई देशबीचमा भएका सम्झौता पालना हुनुपर्छ भन्ने मान्यताअनुसार एमसीसी परियोजनाको प्रावधान संसदमा लगिसकेको स्मरण गराएका हुन् । 

‘एमालेभित्रै केही रिजर्भेसन रहँदा रहँदै पनि हामीले अघि बढाउने कोसिस गरेकै हो, संसदमा टेबुल गरिसकेका थियो, केबल सभामुखलगायत केही व्यक्तिको भूमिकाका कारण अघि बढ्न सकेन,’ ओलीको भनाइ उद्धृत गर्दै नेता राजन भट्टराईले भने । 

बिहीबार अमेरिकाबाट नेपाल आएपछि ओलीलाई भेट्न बालकोट पुगेकी उपाध्यक्ष सुमारले एमसीसी अघि बढाउने विषयमा चासो राखेकी थिईन । जवाफमा ओलीले अब यो विषय नयाँ सरकारमा भर पर्ने बताएका थिए । ‘अहिले हामी प्रतिपक्षमा छौँ, हाम्रो भूमिका फरक भएको छ, यो विषयमा सत्ताधारी दलले पनि हामीसँग छलफल गरेका छैनन्, अब के हुन्छ भन्ने भूमिका सरकारकै धेरै छ’, ओलीको भनाइ उधृत गर्दै नेता भट्टराईले भने । 

एमसीसीका उपाध्यक्ष फातिमा सुमारले अमेरिकाले नेपालको विकासका लागि महत्त्व दिएर एमसीसी परियोजना अघि बढाएको र यो नितान्त विकास निर्माणको परियोजना रहेको भन्दै यसमा विवाद आउनु दुःखद रहेको बताइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया