सरकारले प्रतिस्थापन विधेयक ल्याउने भएपछि तीन दिनका लागि बजेट निकासा रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले भदाै २४ देखि २६ तलब, भत्ता र निवृत्तभरण बाहेकमा सबै बजेट निकासी रोक्न निर्देशन दिएको हो ।
शेर बहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले यसअघि केपी ओलीको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । संभवत शुक्रबारको बैठकमा प्रतिस्थापन विधेयक संसदमा पेश हुँदै छ ।
प्रतिस्थापनमार्फत अध्यादेश बजेटको आकार र योजनाहरु परिवर्तन गर्ने अर्थको तयारी छ । योजना र बजेटको तालमेल मिलाईने र डिपिआरलगायत पूर्वतयारी विनाका, स्रोत सुनिश्चित नभएका आयोजनाहरुको सम्बन्धमा पुनर्विचार गरिने भएको छ ।
प्रतिस्थापनमा ससाना टुक्रे आयोजनाहरु, अन्त्य, शहरी विकास र भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेको डुप्लिकेशन अन्त्य गर्ने किसीमका योजनाहरु ल्याउने सम्भावना छ । सोही कारणले गर्दा अध्यादेश बजेट अनुसार प्रतिस्थापन विधेयकले हटाएका योजनामा बजेट निकासा हुन सक्ने सम्भावनालाई रोक्न तीन दिन बजेट निकासा रोक्का गरिएको हो ।
‘आर्थिक वर्ष २०७८?०७९ को नेपाल सरकारको बजेट रकम निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तभरण बाहेकको कुनै पनि बजेट निकासा मिति २०७८/०५/२४ गते बिहिबार देखि मिति २०७८/०५/२६ शनिवारसम्म नगर्नु नगराउनुहुन साथै यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने व्यहोरा समेत निर्णयअनुसार अनुरोध छ’, महालेखाले भनेको छ ।
प्रतिस्थापन विधेयकमा योजना परिमार्जन हुन सक्ने र त्यसबाट कसैलाई समस्या नहोस भन्नका लागि यसरी बजेट निकासा रोक्का गरिएको महालेखाका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए ।
यसका साथै यही समयमा कार्यालयले नयाँ प्रणालीमा देखिएका समस्याहरु समाधान समेत गर्ने, हिसाव मिलाउने लगायतका काम पनि गर्ने पौडेलको भनाई छ ।
प्रतिक्रिया