यातायात व्यवस्था विभागले यसअघि फारम भरेका आधा परीक्षार्थीले लाइसेन्स लिएपछि मात्रै चालक अनुमति पत्रको फारम खुलाउने भएको छ ।
पहिल्यै फारम भरेका झन्डै ६ लाख सेवाग्राही परीक्षामा सहभागी हुन नपाएकोले त्यसमध्येका झन्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाउने भएको हो ।
‘दशैँसम्ममा दुई, तीन लाख परीक्षार्थी सहभागी भएमा यसपछि खुलाइनेछ’, विभागका प्रवक्ता डा. लोकनाथ भुसालले भने । फारम भरेका सेवाग्राहीले परीक्षामा सहभागी हुन पाएका छैनन् भने परीक्षामा पास भएका झन्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन बाँकी छ । विभागले अनुमतिपत्रका लागि कार्ड खरिद गरे पनि प्राविधिक समस्याका कारण कार्ड आइसकेको छैन । अहिले विभागसँग झण्डै दुई हजार कार्ड मात्रै बाँकी रहेको उनले बताए ।
विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रुपमा रोजगारीमा जानेका लागि मात्रै अनुमतिपत्र दिने गरेको छ । उनले भने, “सर्वसाधरणका लागि छपाइ हुँदैन, प्रवेशाज्ञा र टिकट देखाएपछि अत्यावश्यक हेरेर मात्रै छपाइ हुन्छ ।” केही महिनाभित्रमा कार्ड नआएमा अत्यावश्यक कामका लागिसमेत अनुमतिपत्र दिन गाह्रो पर्नसक्ने विभागका प्रवक्ता डा भुसालले बताए । दशैंसम्ममा कार्ड आइपुगेमा समस्या नहुने बताइएको छ ।
परीक्षा पास भएको लामो समयसम्म पनि सेवाग्राहीले अनुमतिपत्र नपाएपछि अहिले यातायात कार्यालयले अस्थायी प्रकृतिको अनुमतिपत्र वितरण सुरुआत गरेको छ । कोरोना नियन्त्रणका लागि केही समय पहिलेसम्म निषेधाज्ञा भएकामा त्यो हटेसँगै यातायात कार्यालयले परीक्षा पास गरेकालाई परीक्षणकालीन अनुमतिपत्र दिन थालेका हुन् । यो अनुमतिपत्र कार्यालयले आफैँ छापेर एक वर्षका लागि दिने गरेको प्रवक्ता डा। भुसालले बताए ।
यसका लागि विभागले प्राविधिकलाई तालिम दिएको छ भने प्रदेश सरकारअन्तर्गतका कार्यालयले छाप्ने उपकरण ९प्रिन्टर० किनेको छ । विभागले गत १० गते गरेको निर्णयका आधारमा कार्यालयले आवेदन दिएका सेवाग्राहीको परीक्षा सञ्चालन गरिरहेका छन् । काठमाडौं उपत्यकामा रहेका चारवटै कार्यालयले सेवा सुरु गरिसकेका छन् । उपत्यका बाहिरका कतिपय जिल्लाले सुरु गरिसकेका छन् भने केहीले सुरु गर्दैछन् ।
परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । ऐनमा भएको व्यवस्था लामो समयसम्म कार्यान्वयन हुन नसकेकामा अहिले भइरहेको छ । सेवाग्राहीलाई उसले पाउने सङ्केत नम्वर ९क्यूआर० नम्बरसहितको अनुमतिपत्र दिइएको हो । यसले गर्दा सेवाग्राहीले परीक्षा पास गरेको लामो समयसम्म भौचर लिएर हिँड्नुपर्ने बाध्यता हट्ने उनले बताए ।
उनले भने, “यो व्यवस्थाबाट सेवाग्राही र ट्राफिक प्रहरीलगायतलाई सजिलो भएको छ ।” ऐनमा नै व्यवस्था भए पनि परीक्षणकालीन अनुमतिपत्रलाई निरन्तरता दिने नदिने भन्नेमा विभाग नै स्पष्ट छैन । विभागले फ्रान्सेली कम्पनीमार्फत खरिद गरेको १४ लाख कार्ड आएपछि यसलाई निरन्तरता दिने कि पास गर्नासाथ ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भन्नेमा छलफल भइरहेको विभागले जनाएको छ ।
ऐनमा परीक्षणकालीन अनुमतिपत्र पाएको अवधि एक वर्षभित्र दुर्घटना नगरेमा स्थायी दिने उल्लेख छ । उनले भने, “यो कार्ड शुरु गरेपछि सेवाग्राहीलाई मैले पास गरेँ मसँग लाइसेन्स छ भन्ने अनुभूति हुने रहेछ ।”अहिले परीक्षणकालीन अनुमतिपत्र पाउँदा त्योसमेत नै पाँच वर्षको हुनेछ । एउटा प्रकारको सवारीको अनुमतिपत्र लिँदा सेवाग्राहीले अर्को प्रकार थप्दा पहिलेको मिति कायम हुन्छ । त्यसरी अहिले पनि परीक्षणकालीन अनुमतिपत्रसमेत गरी पाँच वर्ष रहेको छ ।
विभागले खरिद गरेको कार्ड आपूर्तिमा ढिलाइ भइरहँदा सेवाग्राही हैरान छन् । फ्रान्सेली कम्पनीले कार्ड ल्याउनुपर्ने भए पनि कार्ड ल्याउनुपर्ने एउटा र सिस्टम अर्को कम्पनीको भएकाले समस्या आएको प्रवक्ता डा।भुसालले बताए । दुई कम्पनीलाई एक ठाउँमा राखेर समस्या के हो पत्ता लगाएर समाधान गर्न भनिएको छ । उनीहरुले धेरै महिना लगाएर समस्या पत्ता लगाएका छन् ।
पुरानो कम्पनीको सिस्टमले ल्याएको ‘इनपुट’ कार्डमा छापिन समय लागेको बताइएको छ । फ्रान्सेली कम्पनीले पछिल्लो पटक पठाएको कार्ड यहाँ परीक्षण गर्दा पुरानो प्रणालीमा छापिनसक्ने देखिएको विभागले जनाएको छ । ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले पनि केही कार्ड पठाएपछि त्यसको स्थायित्व परीक्षण गर्छौं भनेको उनले बताए ।
कार्ड लगातार छापिँदा कुनै समस्या आउँछ कि आउँदैन हेर्नका लागि कार्ड अहिले भारत पठाइएको छ । राम्रो भयो भने पनि स्वीकार गर्ने र त्यसपछि मात्रै कार्ड आउन थाल्ने प्रवक्ता डा भुसालले बताए । उनका अनुसार कार्ड आएपछि दुई(तीन सिफ्टमा छापेर पनि सकेसम्म चाँडो सेवाग्राहीको हातमा अनुमतिपत्र पुर्याइनेछ ।
प्रतिक्रिया