काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेका प्रदीप रावल रिहा भएका छन् । यसअघि सोही प्रकरणमा समातिएका विशाल चौधरीलाई पनि प्रहरीले रिहा गरिसकेको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जको हिरासतमा रहेका रावललाई काठमाडौंका प्रमुख जिल्ला अधिकारीको आदेशमा बुधबार साधारण तारेखमा रिहा गरिएको हो ।
उनीसँगै चौधरीको डीएनए मेल नखाएको दाबी गरिएपनि प्रहरीले यसबारे आधिकारिक रुपमा केही जानकारी दिएको छैन ।
यसअघि प्रहरीले बलात्कार र हत्यामा रावल र चौधरीको संलग्नता रहेको दाबी गर्दै पक्राउ गरेको थियो । यद्यपी पक्राउ परेका चौधरी घटना भएको दिन प्रहरी हिरासतमै रहेको खुलेपनि प्रहरीको चौतर्फी आलोचना भएको थियो । प्रहरीले उनीहरुले पन्तको बलात्कार र हत्यामा संलग्नता स्वीकार गरिसकेको भन्दै सञ्चार माध्यममा सूचना नै चुहाएको थियो ।
तर, रावल र चौधरी साधारण तारेखमा छुटेसँगै घटनामा अनुसन्धानमा प्रहरी फेरि एकपटक चुक्न पुगेको छ ।
निर्मला प्रकरणमा चौधरी र रावल पनि छुटिसकेपछि अब वास्तविक हत्यारा को हो भन्नेमा थप अन्योलता बढेको छ। स्थानीयले घटनामा शक्तिशाली व्यक्तिको संलग्नता रहेको दाबी गर्दै आएको बेला अब अनुसन्धन प्रक्रियालाई प्रहरीले कसरी अघि बढाउँछ भन्नेमा सर्वत्र कौतुहलता बढेको छ ।
गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो । घटना भएको १५० दिन बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्दा प्रहरी र सरकारको चर्को आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया