ताप्लेजुङ - कमेडी च्याम्पियनको फाइनलिष्ट भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ ।
काबेलीबाट मोटरसाइकल ¥याली सहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङ सहित भेषभुषामा सजिएका नागरिकहरूको उल्लेख्य उपस्थितिमा नगरपरिक्रमा गराइएको थियो ।
कमेडी च्याम्पियन सिजनको २ को उपाधि चुम्न सक्ने शुभकामना दिदैँ ताप्लेजुङका नागरिकले फुल, माला, खदा र अबिर प्रदान गरेका थिए । उनको सम्मानमा नगर क्षेत्रका हरेक नागरिकले सडकमा निस्किएर ताली बजाउँदै ‘भरतमणि हाई–हाई भन्दै उनलाई अझ प्रगतिको शुभकामना दिएका थिए ।

झापामा छोटो प्रहसन सकेपछि इलाम हुँदै पाँचथर पुगेका उनलाई फिदिम बजारमा स्वागत गरिएको थियो । त्यसपछि उनलाई पाँचथरको भालुचौक बजारमा पनि स्वागत गरियो ।
यो तहको सम्मानले भरतमणि नेपालकै रुचाइका कमेडियन भएको पुष्टि गरेको गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठले बताए । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले उमेर कलिलो तर गहिरो र रोचक कला रहेका भरतमणि कलाकै मणि भएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्व युवराज पारस, पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराई, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेता राजेन्द्र महतो सहितका सयौँ व्यक्तिको स्वर दुरुस्तै बोल्न सक्ने क्षमताका भरतमणि पछिल्लो समय पूर्व युवराज पारसको अभियानबाट निकै चर्चामा छन् ।

भरतमणि कमेडी च्याम्पियनका सर्वाधिक प्रफमर अफ डेको उपाधिबाट सम्मानित हुने प्रतिस्पर्धी पनि हुन् । उनी सँगै भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन् । अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ ।
पौडेललाई कमेडी च्याम्पियनको उपाधि दिलाउनका लागि प्रभु पेको एप डाउनलोड गरेर भोट गर्न सकिने छ । उनको भोट कोड नम्बर ३ रहेको छ ।
प्रतिक्रिया