सरकारले सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार दिने खालको कर्मचारी यो वर्षपनि फेला पार्न नसकेपछि यो वर्षपनि पुरस्कार वितरण नगरिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको भएपनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार दिने व्यक्ति छनौट नभएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
११ भदौमा मनाइने निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने व्यवस्था छ ।
सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ ।
२०७३ सालमा तत्कालिन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार पाएपनि त्यससताका पाँच वर्ष यो पुरस्कार वितरण गरीएको छैन ।
सबैभन्दा राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको यो पुरस्कारका लागि माथिल्लो पदका व्यक्तिहरु योग्य नभएको र तल्लो तहका कर्मचालीलाई उनीहरुले नै सिफारिस नगर्ने कारण यो पुरस्कार खाली रहेको प्रशासन क्षेत्रका जानकारहरु बताउँछन् । ‘माथिल्लो तहका सबैजसो कुनै न कुनै कमिसन वा अनियमितता काण्डमा जोडिएका छन्’, एक पूर्व प्रशासक भन्छन्, ‘तल्लो तहका कर्मचारीले राम्रो काम गरेपनि सर्वोत्कृष्टका लागि हाकिमहरुले नै सिफारिस गर्दैनन् ।’
निजामति प्रशासन घुस, कमिसन र अनियमितताको अखडा बन्दै गएकोले पुरस्कृत गर्ने कर्मचारी पाउनै मुस्किल हुन थाल्नु लाजमदौ कुरा भएको ति पूर्व प्रशासक बताउँछन् ।
प्रतिक्रिया