एजेन्सी - संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाएका हुन् । महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई काबुल पठाउनुभएको हो ।
आइतबार उनले संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्ने भएको हो । संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल पुगेका हुन् । उनले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गरेका छन् ।
देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिबान नेताहरुलाई आग्रह गरेका थिए । त्यसअवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए ।
तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
अफगानिस्तानको पञ्जशिर प्रान्त पनि तलिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन् । देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरुले पाञ्जशिर प्रान्त पनि कब्जा गरेसँगै सबै प्रान्त कब्जा भएका छन् ।
तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीहरुका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीहरुले नै पञ्जशिरमा जीत हासिल गरेका हुन् । तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पञ्जशिरमा आफूहरुको जीत भएको र प्रान्त नै आफूहरुको नियन्त्रणमा आइसकेको दाबी गरे ।
आफूहरुको सत्तालाई तालिबान विद्रोहीहरुले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन । पञ्जशिर पनि अब यहीमार्फत सञ्चालिन हुने भएको छ । विद्रोही र तत्कालीन सत्तापक्षका बीचमा भएको भिडन्तका क्रममा कैयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते पनि भएको विवरणहरु सार्वजनिक भएका छन् ।
पञ्जशिरमा भएको लडाइँमा हजारौँले भाग लिएका जनाइएको छ । भिडन्तका क्रममा अरु कयौंको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन ।
प्रतिक्रिया