काठमाडौं– प्रेमकथा फ्लेभरका फिल्मका सफल निर्देशक सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरेका छन् ।
निर्देशक सुदर्शनको आज जन्मदिन हो । यही मौकामा उनले लामो समयदेखिकी प्रेमिका सुप्रियासँग औठी साटासाट गरेका हुन् । सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिय एपी वान टेलिभिजनकी समाचारवाचिका हुन् । सुप्रियाले फिल्म ‘साढे सात’मा अभिनय गरेकी छन् ।
यो जोडीले लाजिम्पाटस्थित होटल र्याडिसनमा पारिवारिक माहौलमा इन्गेजमेन्ट गरेका हुन् । निर्देशक सुदर्शन फिल्म ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा पाइला चालेका निर्देशक हुन् । उनले ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘राम कहानी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।
सुदर्शनको नाम यसअघि सुष्मा कार्की र पुजा शर्मासँग जोडिने गरेको थियो । सुदर्शन र सुप्रियाको भेट फिटनेस क्लबमा भेट भएको थियो । प्रेम र परिवारको सहमतिमा सुदर्शन र सुप्रियाले औंठी साटेका हुन् ।
उनीहरूको बिहे यसै वर्ष हुनेछ ।
प्रतिक्रिया