काठमाडौं - मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्ने छ ।
पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएरातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाडौँ उपत्यकामा १२१.५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
साथै रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रे प्रवेश गर्ने दुईवटै सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अवरुद्ध हुँदा भक्तपुरको सूर्यविनायकसम्म सयौँ गाडी बिहानैदेखि लामबद्ध भएर रोकिएका छन् ।
भक्तपुरबाट काभ्रेपलाञ्चोकतर्फ जाने दुई सडकमध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुलबजार डुबानमा पर्दा पुलबजारदेखि भक्तपुरको सूर्यविनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
बिहानैदेखि काभ्रेदेखि सूर्यविनायकसम्म सडकको दुवैतर्फ गाडी लामबद्ध रहेको जानकारी दिँदै उहाँले पुलबजार खुलेर सहजरुपमा यातायातका साधन जान सक्ने अवस्था नभएसम्म समस्या हुने बताए । उनले सडक नखुलेसम्म काभ्रे जाने यातायातका साधनलाई यो सडक भएर नआउनसमेत आग्रह गरे । बिहान १० बजेसम्म यातायातको साधनको चाप सडकमा बढ्दै गएको प्रहरीको भनाइ छ ।
काभ्रे जाने वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको च्यामासिंह ताँथली, नाला हुँदै बनेपा निस्कने सडकसमेत अवरुद्ध हुँदा यो सडक भएर जाने सवारीसाधन ताँथली र गुम्बामा दुवैतर्फ समेत रोकिएका छन् ।
राति भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका–९ भञ्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुँदा अरनिको राजमार्गको विकल्पका रुपमा यो सडक हुँदै गएका सवारी साधन पनि पाँच घण्टा भञ्ज्याङमा रोकिएका छन् ।
प्रतिक्रिया