काठमाडौं उपत्यकामा आइतबार रातिदेखि परिरहेको वर्षा सोमबार बिहान पनि वर्षा थामिएको छैन। लगातार ६ घण्टाको वर्षाले काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला महनोहरा, हनुमन्तेलगायतमा ठूलो बाढी आएको छ ।
बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो।
त्यस्तै हनुमन्ते खोलका कारण भक्तपुरका धेरै स्थान जलमग्न हुन पुगेका छन् भने मनोहरा खोलाका कारण मुलपानी, विस्टगाउँ, काडाघारी लगायत स्थानमा डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्रीनगर तथा ढुंगेअड्डाका खोला किनारमा रहेका अधिकांश घरहरुको भूइँतलामा बाढी पसेको छ ।
त्यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढी आउँदा मध्यपुरथिमी, बिस्कुट कारखाना, तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेका छन् । बाढीले सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, राधेराधे, शंखधरचोक, बालकोट, चारदोबाटो लगायतका क्षेत्रमा बाढी पस्न लागेको छ ।
प्रतिक्रिया