काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्ज तोकेको छ । अर्को व्यवस्था नभएसम्मका लागि पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ ।
पार्टीका केन्द्रीय सदस्य दीलु पन्तका अनुसार सुदूरपश्चिममा इञ्चार्ज पछि तय गरिनेछ । उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी अदालत र निर्वाचनसम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।
त्यस्तै दस्तावेज मस्यौदा कमिटीमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्य छन् । दैनिक कार्य सञ्चालनका लागि डा बेदुराम भुसालको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ ।
यसअघि गठन गरिएको स्थायी कमिटीमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा बेदुराम भुसाल र प्रमेश हमाल छन् । साथै सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा आज सनाखत गराएका छन् ।
एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएको हो ।
सोडारी र तामाङ क्रमशःनेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष थिए । योसँगै नेकपा एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् । प्रदेशसभामा अब नेकपा एमाले १२ जनामा सीमित भएको छ । प्रदेशसभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो ।
प्रदेशसभामा नेकपा ९माओवादी केन्द्र० का १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् । यसअघि नेकपा ९एमाले०का प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्य मन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउँद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउँद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका थिए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया