सक्छौ भने मलाई पक्राउ गर : भीम रावल

४ बर्ष अगाडि

काठमाडौं - गृह मन्त्रालयले विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न चेतावनी दिएको छ । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पत्तिका विषयमा नकरात्मक टिप्पणी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण भएको बताएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्ता नकारात्मक टिप्पणी गर्नेमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

एमसीसी परियोजनाको बिरोध गर्दै आएका एमाले उपाध्यक्ष डा। भीम रावलले गृहको उक्त विज्ञप्तिमाथि कडा अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनी सूचना गरेको आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती दिए ।

एमाले उपाध्यक्ष रावलले भने, ‘यो लोकतन्त्र हो कि के तन्त्र हो रु कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो रु मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन, ५० दिन भैसक्यो । लाज पनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौताबारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ ।’

रावलले अगाडि भने, ‘म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु– मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मलाई गिरफ्तार गर । गृहमन्त्रालय आउ मलाई पक्रेर लग । आँट गर्छौ भने तिमी देशघातीहरुले यो सम्झौताका लागि नेपाली जनतालाई धम्क्याएर देशभक्त नेपाली जनता धम्किँदैनन् । तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीँबाट कुल्चिदिन्छु ।’

४ बर्ष अगाडि

प्रतिक्रिया