एजेन्सी - अफगानिस्तानभरि नै अफिम खेती रोजगारीको मुख्य स्रोत हो । यूएनओडीसीले गरेको एक अफिम सर्वेक्षणका अनुसार सन् २०१९ मा करिब एक लाख २० हजार मानिसहरूले अफिमको बाली उठाउने काम पाएका थिए ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिवानले अफिम बालीमा कर लगाउनुका साथै यसको प्रशोधन तथा तस्करीबाट समेत अप्रत्यक्ष आम्दानी गर्ने गरेको छ । अफिम कृषकहरूबाट तालिवानले १० प्रतिशत खेती कर लगाउने गरेको बताइन्छ ।
अफिमलाई हेरोइनमा परिणत गर्ने प्रयोगशाला र यो अवैध लागु औषधको तस्करीमा संलग्न व्यापारीहरू बाट समेत तालिवानले कर सङ्कलन गर्ने गरेको छ । अवैध लागु औषधबाट मात्रै तालिवानलाई वर्षमा १० करोड देखि ४० करोड अमेरिकी डलर आम्दानी हुने आकलन गरिएको छ ।
अफगानिस्तानको अफिमले विश्वको ८० प्रतिशत आपूर्ति धान्ने गरेको छ । युएनओडीसीले सन् २०१८ गरेको एक अनुमानमा अफिम उत्पादनले देशको अर्थतन्त्रमा ११ प्रतिशत योगदान पुर्याएको पाइएको थियो ।
अमेरिकाको विदेश मन्त्रालयका अनुसार अफगानिस्तानमा तालिवान शासनको सुरुवाती समयमा अफिम खेती निकै बढेको थियो । सन् १९९८ मा करिब ४१,००० हेक्टर भूमिमा भइरहेको खेती सन् २००० सम्म आइपुग्दा ६४,००० हेक्टरमा फैलिएको थियो ।
तालिवान नियन्त्रित हेलमण्ड प्रान्तमै यसको खेती मुख्यगरी फस्टाएको थियो । विश्वमा उत्पादन हुने अवैध अफिममध्ये हेलमण्डको उत्पादनले मात्र ३९ प्रतिशत हिस्सा ओगटेको छ ।
तर अचानक सन् २००० मा तालिवानले आफू नियन्त्रित क्षेत्रहरूमा अफिमको बोटहरू रोप्न रोक लगायो । सन् २००१ को मे महिनामा प्रकाशित एक राष्ट्रसङ्घीय प्रतिवेदनले ‘तालिवान नियन्त्रित क्षेत्रहरूमा लगाइएको अफिम खेती प्रतिबन्धले करिब करिब सफलता हात पारेको देखिएको’ जनाएको छ ।
अफिम खेतीमा तालिवानको प्रतिबन्धसँगै सन् २००१ र २००२ मा विश्वभर अफिम र हेरोइनको बरामदमा उल्लेख्य गिरावट आएको थियो । तर त्यस लगत्तै परिस्थिति फेरियो ।
हालै बाहिरिएको अफगानिस्तानको सरकार नियन्त्रित क्षेत्रहरूमा पनि अफिम खेती भइरहेका थिए तर यसको मुख्य उत्पादन तालिवान नियन्त्रित क्षेत्रहरूमै एकत्रित रहेको पाइन्छ ।
प्रतिक्रिया