काठमाडौं - गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ ।
विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल सामान्य घाइते भएका छन् । विङ्गर चालक भने फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
साथै अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।
काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ ।
प्रतिक्रिया