काठमाडौं - साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भए ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती शुरु गरेको छ । पछिल्लो ३ दिनयता दार्चुला सदरमुकाम खलंगा र ब्यास गाउँपालिकामा क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडाउन थालिएको दार्चुलाका प्रजिअ सिद्धराज जोशीले बताए ।
तीन दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो । तर, भारतले तीन दिनयता खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको छ ।
स्थानीय प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आपत्ति जनाएको छ । पत्रको बोधार्थ धार्चुलालाई पनि पठाइएको प्रजिअ जोशीले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो बारेमा गृह मन्त्रालयलाई पनि जानकारी दिएको छ ।
तर, गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसबारे प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सम्पर्कमा आउन चाहेनन् ।
यस्तै यस सम्बन्धी एमाले उपाध्यक्ष भीम रावलले प्रश्न गरेका छन् । उनले समाजिक सञ्जाल मार्फत सरकालाई प्रश्न गरेको हो । उनले लेखेका छन्, 'दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?'
प्रतिक्रिया