पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध, पर्वतमा पाँचको मृत्यु हुँदा तीन बेपत्ता

४ बर्ष अगाडि

काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता
पर्वतको विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् ।

पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया