काठमाडौं, कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्परको लुक्स र फिचर्स सार्वजनिक गरेको छ । यो हुन्डाईको ग्लोबल पोर्टफोलियोमै सबैभन्दा सानो कार हुनेछ ।
यसको प्रतिस्पर्धा टाटा मोटर्सले लन्च गर्न लागेको पन्च र मारुती सुजुकी इग्निससंँग हुने बताइएको छ । यी वाहेक निसान म्याग्नाइट र रेनो काइगर जस्ता इन्ट्री लेवल कम्प्याक्ट एसयूभीसँग समेत यसको प्रतिस्पर्धा हुनेछ । यसको मूल्य भारतमा ५ देखि ८ लाख भारतीय रुपैयाँ रहने अनुमान लगाइएको छ ।
हुन्डाईले यो एसयूभीलाई हुन्डाई ग्रान्ड आई १० नियोस र स्यान्ट्रोमा प्रयोग गरिएको के १ प्लेटफर्ममा निर्माण गरेको हो । यसको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम रहेको छ ।
यसमा गोलो आकारको हेडल्याम्पको साथ एलईडी डीआरएल र लोअर बम्परमा एलइडी रिङ देख्न सकिन्छ । साथमा सिल्भर फिनिस स्किड प्लेटले यो एसयूभीको लुक्सलाई एग्रेसिभ बनाएको छ । साथै यसमा डुअल टोन रुफ टेल र मल्टि स्पोक अलोय ह्विल समेत उपलब्ध गराइएको छ । यसको पछाडि भागको तल्लो बम्परमा इन्टिग्रेटेड टेललाइट जडान गरिएको छ ।
यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डुअल टोन इन्टेरियर, मल्टिफंक्सनल स्टेयरिङ ह्विल, कनेक्टेड कार टेक्नोलोजी, रिभर्स पार्किङ क्यामेरा, डुअल एयरब्याग, किलेस इन्ट्रि, एड्जस्टेबल हेडरेस्ट लगायत कैयौ सेफ्टी फिचर्स उपलब्ध गराइएको छ।
कोरियामा लन्च भएको हुन्डाई क्यास्परमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड र टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले क्रमशः ७६ एचपी र १०० एचपी पावर दिनेछ । यद्यपि आगामी दिनमा १.२ लिटर इन्जिनका साथ पनि यो उपलब्ध हुन सक्ने बताइएको छ, जसको पावर ८२ बीएचपी हुनेछ । क्यास्पर ५ स्पिड म्यानुअल र अटोमेटिक गरी दुवै अप्सनमा उपलब्ध हुनेछ ।
पहिलो पटक कोरियामा बिक्री प्रारम्भ गरिने हुन्डाई क्यास्पर सन् २०२२ को प्रारम्भ तिर भारतमा आउन सक्ने बताइएको छ । नेपाली बजारमा पनि यसपछि आउन सक्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया