काठमाडौं - इजरायलमा केयर गिभर कामको रोजगारका लागि भाग भन्दा झण्डै दश गुणा बढी आवेदन परेको छ । इजरायलले १ हजार जना कामदार मागेकोमा त्यसको झण्डै दश गुणा बढि आवेदन परेको हो ।
परीक्षा भदौ २८ गते हुँदैछ । आवेदकहरुको अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागले सुचना जारी गर्दै आवेदन स्वीकृत भएकाहरुको भौतिक उपस्थितिमा नै परीक्षा गर्ने विभागले जनाएको हो ।
सूचना अनुसार काठमाडौं उपत्यकामा विभिन्न परीक्षा केन्द्र तोकिएका छन् । दिनको ठिक १ बजे सञ्चालन हुने परीक्षा दुई घण्टाको हुने विभागले जनाएको छ । परीक्षार्थीहरूले परीक्षाको लागि तोकिएको समयभन्दा ३ घण्टाअगावै परीक्षा केन्द्रमा पुग्नु पर्नेछ । विभागले कोरोना महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।
परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भए÷नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै लगइन गरेर हेर्न सक्छन् ।
सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन आह्वान गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका छन् । परीक्षा केन्द्र विभागको वेबसाइटमार्फत हेर्न सकिने विभागले जनाएको छ ।
इजरायल रोजगारीका लागि शुरुमा १ हजार जना सहायक कामदार लैजाने बताएको छ । त्यसका लागि १ हजार ४ सय जना छनोट हुने छन् । रोजगारी प्रणाली योग्यता प्रणालीमा आधारित हुने विभागले जनाएको छ ।
विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक नेपाली रुपैयाँ करिब एक लाख ९३ हजार हुनेछ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ ।
प्रतिक्रिया