काठमाडौं - नेपाल सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाले सर्वात्तम सिमेन्टको कानून विपरीत छोरीको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न समिति गठन गरे संगै उनी आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।
सरकारले गठन गरेको टोलीमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।
यस अगाडी अर्थ समितिले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो ।
सर्वोत्तमले शेयर निष्कासनको प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा यो कम्पनीको शेयर किनेका हुन् । सर्वोत्तम सिमेन्ट लिमिटेडको पछिल्लो शेयरवाला दर्ता किताबका अनुसार, रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मका ११ हजार ९१२ कित्ता शेयर छन् । ढुंगानाको नाममा गत पुसमा दश हजार कित्ता शेयर हस्तान्तरण भए पनि आर्थिक वर्ष २०७६/७७ को १९.१२ प्रतिशत बोनस शेयर थपिएर शेयर संख्या बढेको हो ।
२१ पुस २०७६ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भीष्म ढुंगानाले सर्वोत्तमले बुक बिल्डिङको प्रक्रिया शुरू गरिसकेपछि पारिवारिक सदस्यका नाममा शेयर किनेको देखिएको छ । कम्पनीमा ढुंगानासहितका व्यक्तिलाई शेयर हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए ।
प्रतिक्रिया