प्रदेश १ मा एकैदिन काेराेनाका कारण ६ जनाकाे मृत्यु , गण्डकी प्रदेशमा कति ?

४ बर्ष अगाडि

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा आठ, धनकुटामा पाँच, भोजपुरमा तीन, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९९७ जनामा गरिएको नमूना परीक्षणमा २३५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२३ महिला र १२२ जना पुरुष रहेका छन् । 

प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्की १४७, बागलुङ २, स्याङ्जा २८, म्याग्दी २, पर्वत २, लमजुङ १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा १६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार ८१० पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१८ का ७५ वर्षीय पुरुष, पोखरा–१९ की ५५ वर्षीय महिला, बागलुङ काठेखोला–८ की ८३ वर्षीय महिला, स्याङजा गल्याङ–३ की ८५ वर्षीय महिला र तनहुँ ब्यास–४ का ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०० पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ३१० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकैदिन संक्रमणमुक्त हुनेको संख्या २८८ पुगेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २०० रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया