काठमाडौं, अहिलेका नाम चलेका तीन स्टार सौगात मल्ल, अनमोल केसी र पुष्प खड्का पहिलो पटक फिल्ममा एकसाथ देखिने तयारीमा छन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन(थ्रिलर फिल्म ‘एक्स ९’ मा उनीहरुले एकसाथ देखिन लागेका हुन् । फिल्ममा उनीहरु एक्सन अवतारमा प्रस्तुत हुनेछन् । यसका लागि तीनै स्टारले बुधवारबाट एक्सन तालिम लिन सुरु गरेका छन् ।
प्रत्येक दिन तीन घण्टाका लागि राजधानीको एक जिम ट्रेनिङ हल भाडामा लिएर निर्माण टिमले कलाकारको जिम र एक्सन तालिम सुरु गरेको हो । यसका लागि सौगात, अनमोल र पुष्पसँगै राज कटुवाललाई पर्सनल ट्रेनर उपलब्ध गराइएको छ । निर्देशक भट्टका अनुसार, कलाकारहरुको जिम र एक्सन तालिम चार महिना चल्नेछ । सोचेजस्तो नभए अरु एक महिना थपिन सक्ने उनले बताए ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा प्रियंका थापा एकल अभिनेत्रीको रुपमा रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।
प्रतिक्रिया