मीन विश्वकर्माले दुबै पदबाट दिए राजीनामा, कोइरालाको कारबाही फुकुवा गराउन ध्यानाकर्षण

४ बर्ष अगाडि


नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।  महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै उनले महाधिवेशनको मुखमा पदबाट राजीनामाको घोषणा गरेका हुन् । 

पार्टीको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको सभापति शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ । 

‘षड्यन्त्र मुलक ढंगबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन’ उनको राजीनामा पत्रमा भनिएको छ, ‘यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’
उनले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति भने प्रतिबद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैव लडिरहने प्रण गरेका छन् ।


कारबाही फुकुवाका लागि ध्यानाकर्षण
नेपाली कांगे्रस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले आज पार्टी जिल्ला सभापतिलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो ।

तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्  । बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकतान्त्रिक शैलीबाट अपदस्त गर्ने तथा गैरराजनीतिक क्रियाकलापलाई राजनीतिक रङ दिएको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो ।

विसं २०७० सालको संविधान सभा निर्वाचनमा साविक चितवन क्षेत्र नम्बर ४ मा पार्टी केन्द्रीय सभापति सुशील कोइरालाको उम्मेदवारी रहेको स्थानमा बागी उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारित रही विसं २०७० कात्तिक २ गतेको निर्णयले केन्द्रीय समितिमा अनुशासनको कारबाहीका लागि पत्र पठाइएको थियो । उनिसँगै कारबाहीमा परेका अन्यको फुकुवा भई निर्वाचनमा टिकटसमेत दिईनु तर कोइरालाको फुकुवा नहुनु दुःखद् रहेको तरुणदलले जनाएको छ ।

विसं २०७६ चैत १३ गते कांग्रेस चितवनको बैठकको निर्णयले कोइरालाको क्रियाशील सदस्यता नवीकरणका लागि सिफारिस गरेको भए पनि कुनै निर्णय नआउँदा आफूहरू गम्भीर भएको तरुणदलले जनाएको छ । कोइराला विसं २०६७ को १२ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए  । निर्वाचित बनेसँगै विभिन्न कारणले जिल्लाको विशेष अधिवेशनबाट उनलाई सभापतिबाट हटाइएको थियो । ज्ञापनपत्र बुझाउँदै तरुणदलले कोइरालाको कारबाही फुकुवा भएर क्रियाशील सदस्या नआएसम्म जिल्लाको अधिवेशन गर्न नदिइने चेतावनी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया