जम्मा २ हजार १ सय डलरमा विद्युतीय कार किन्न पाइने भएको छ । चिनीया कार निर्माता कम्पनी रिगल र्याप्टर मोटर्सले विद्युतीय कार के फाईभ (k5) को बिक्री शुरु गरेको हो ।
दुई जना ब्यक्ति आरामका साथ बस्न मिल्ने यो कारको गति ४० किलोमिटर प्रतिघण्टा छ । यो कारले सिंगल चार्जमा ५५ देखि ६० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यो कारको वारेमा ग्राहकको प्रतिक्रिया भने थाहा पाउन बाँकी नै छ । रिगल र्याप्टर मोटर्स विशेष गरी इलेक्ट्रिक बाइक र स्कुटर निर्माता कम्पनीको रुपमा चिनिन्छ ।
के फाईभलाई सबैभन्दा कम मूल्यको विद्युतीय कार भएको दावी गरिएको छ । यो भन्दा पहिले चीनकै जीडब्लुएमले निर्माण गरेको ओरा आर१ पनि सस्तो इलेक्ट्रिक कार भनेर चर्चामा आएको थियो । जसको मूल्य करिव ९ हजार डलर छ ।
अमेरिकामा सबैभन्दा सस्तो मानिने इलेक्ट्रिक कार निसान लिफको मूल्य करिव २७ हजार डलर छ भने फ्रान्समा सिट्रोन एएमआईको मूल्य करिव ७ हजार युरोबाट शुरु हुन्छ ।
यी भन्दा पनि फरक क्षमताका इलेक्ट्रिक कार सिटी स्पिरिट पनि नेपाली बजारमा उपलब्ध छन् । लिथियम ब्याट्रीयुक्त दुई सिटे सिटी स्पिरिटको मूल्य १७ लाख ८५ हजार र लिड एसिड ब्याट्रीयुक्त सिटी स्पिरिटको मूल्य १३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी लिथियम ब्याट्रीयुक्त चार सिटे सिटी स्पिरिटको मूल्य १८ लाख ८५ हजार र लिड एसिड ब्याट्रीयुक्त सिटी स्पिरिटको मूल्य १४ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
यो कारलाई अलिबाबाको वेबसाइटबाट अनलाइन रुपमा खरिद गर्न सकिन्छ । यद्यपि नेपालमा यसलाई ल्याउनका लागि भने अनुमति नहुन सक्छ । नेपालमा कुनै पनि कार बिक्रीका लागि आधिकारिक वितरकमार्फत मात्र किन्नु पर्ने नियम छ ।
नेपाली बजारमा टाटा नेक्सन, हुन्डाई कोना, किया निरो, एमजी ईजेडएस, महिन्द्रा ई२ओ, बीवाईडी ई६, दीगो ई८, डेरी ईभी७ र ईएम७ आदि इलेक्ट्रिक गाडी छन् । सबैभन्दा सस्तो भनिने डेरी ईभी७ को मूल्य १९ लाख ५० हजार र ईएम७ को मूल्य १९ लाख ९० हजार छ भने दीगो ई८ को मूल्य २१ लाख ९४ हजार मूल्यका विद्युतीय कारहरु चलिरहेका छन् ।
प्रतिक्रिया