कामपाका ३ स्थानीय तहले अझै स्थानीय पाठ्क्रम लागू गरेनन्, १७२ शिक्षक नियुक्त

४ बर्ष अगाडि

 काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म   स्थानीय पाठ्क्रम लागू गरेका छैनन् ।संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई रहे पनि काठमाडौँ जिल्लाका नागार्जुन, टोखा र कीर्तिपुर नगरपालिकाले अझैसम्म लागू गर्न सकेका छैनन् । 

सुरु गर्न बाँकी रहेका दुई स्थानीय तहले यही शैक्षिक सत्रदेखि लागू गर्नेगरी व्यवस्था भइरहेको बताएका छन् भने कीर्तिपुर नगारपालिकाले कोरोना महामारी कम भएपछि सुरु गर्ने जनाएको छ । बाँकी अन्य आठ स्थानीय तहले पठनपाठन गराइरहेका छन् । अहिलेसम्म लागू गरेकामध्ये धेरैले नेपाली भाषा रोजेका छन् । 

काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने नेपाल भाषा छनोट गरेका छन् । त्यसमध्ये गोकर्णेश्वर नगरपालिकाले सबैभन्दा पहिले विगत तीन वर्षदेखि नै आफ्नो  पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेका छन् । काठमाडौँ महानगरापलिका, चन्द्रागिरि, शङ्खरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा,  गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा हाल पठनपाठन भइरहेको छ ।  

नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । 

कामपाले गत शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो । काठमाडौँका अन्य स्थानीय तहले पुरानै शिक्षकबाट स्थानीय विषयलाई अगाडि बढाइरहँदा कामपाले आफ्नै साधन र स्रोतमा शिक्षकको दरबन्दी सृजना गरी विद्यालयमा पठाएको  छ । 

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । 

स्थानीय विषय पठनपाठनका लागि कामपामा १७२ शिक्षक नियुक्त 

यस विषय पठनपाठन गर्नका लागि कामपाले आफू मातहत रहेका सामुदायिक विद्यालयमा एक सय ७२ नयाँ शिक्षक  नियुक्ति गरेको छ । कामपाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयमा सेवा करारअन्तर्गत नियुक्त गरेको हो । यसरी नियुक्त गरिएको शिक्षकको हरेक एक वर्षमा समयावधि थप गर्ने व्यवस्थाअनुरुप शिक्षक राखिएको हो ।    

सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरी दुवैलाई अनिवार्य लागू गरे पनि नयाँ शिक्षक भने सामुदायिक विद्यालयमा मात्र पठाएको छ । निजीका शिक्षकलाई भने कामपाले आवश्यकताअनुरुप तालिमको व्यवस्था गरिदिएको छ । 

कामपामा रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । हाल यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार सात सय ९१ शिक्षक कार्यरत छन् । कामपाले यसरी नयाँ दरबन्दी नै सृजना गरी शिक्षक राखिरहँदा काठमाडौँकै धेरै स्थानीय तहले भने आफूसँग साधन स्रोतको कमी रहेकाले पुरानै शिक्षकबाट पठनपाठन गरिरहेको बताएका छन् ।  

स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाहरुको सहभागिता तथा आवश्यकता र औचित्यका आधारमा तयार गरिने योजना हो । स्थानीय भन्ने बित्तिकै स्थानीय व्याक्तिको आवश्यकता, विषयवस्तु तथा निर्माणमा स्थानीय विज्ञ वा व्याक्तिको संलग्नता रहन्छ । स्थानीय पाठ्यक्रम विद्यालय, समुदायभित्र रहेका व्याक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, वेशभूषा, पेसा आदिसँग सम्बन्धित रहेर निर्माण गर्नुपर्दछ । 

त्यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । स्थानीयस्तरमा लुकेर रहेका ज्ञान सीपलाई पुनः उजागर गरी आधुनिक सभ्य मानिएको विश्व समाजलाई चिनाउन तथा नेपालीको प्रत्यक्ष जीवन पद्धतिसँग जोडिएर रहेका विषयहरु अगाडि ल्याउन स्थानीय पाठ्यक्रम अति आवश्यक छ । स्थानीय पाठ्यक्रमले नेपालमा रहेका विविधतालाई चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया