दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।
‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ’ भट्टराईको भनाइ छ ।
केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।
तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते बुधबार नेकपा (एकीकृत समाजवादीं)नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।
यस्तै सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको छ । सापकोटाविरुद्ध परेको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाई गर्नेगरी पेशी तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको बेन्च गठन भएको थियो । सो इजलासले सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको छ । अब, अर्को इजलास गठन भएपछि मात्र सापकोटा विरुद्ध परेको रिटमा सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले बताए ।
सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । उनीविरुद्ध अर्जुनपत्नी पूर्णिमाया लामाले २०६९ मा र कनकमणि दीक्षितले २०६८ मा दायर गरेको रिटमा सुनुवाई गर्न बुधवार पेशी तोकिएको थियो । यसअघि ३० फागुन २०७६ मा सो मुद्दाको पेशी तोकिएको थियो ।
काभ्रेको दाप्चास्थित श्रीकृष्ण माविबाट २०६२ वैशाखमा लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै पत्नी पूर्णिमायाले दिएको जाहेरी प्रहरीले नलिएपछि उनी सर्वोच्च अदालतमा पुगेकी थिइन् ।
सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सापकोटाविरुद्ध जाहेरी दर्ता भएको थियो । सो जाहेरी महान्यायाधिवक्ताको कार्यालयको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले तामेलीमा राखेको छ । त्यसविरुद्ध पूर्णिमाया र कनकमणि दीक्षितले फेरि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया