न्यादी हाइड्रोपावरको आइपिओमा कतिले दिए आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - लमजुङ मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते  सम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । 

उनका अनुसार यतिका सङ्ख्यामा परेको आवदेनबाट रु ६१ करोड १३ लाख ३ हजार ८०० बराबरको निवेदन रहेको छ । यीमध्ये आयोजना प्रभावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार  ९५३ आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० र जिल्लावासीको लागि तोकिएको १० लाख कित्ता शेयरको लागि २२ हजार २३८ जना आवेदकबाट रु ४४ करोड ७५ लाख ८५ हजार ७०० बराबरको आवेदक माग रहेको आयोजनाले जनाएको छ ।

आयोजना अनुसार यी आवदेकको आधारमा ६१ लाख ६३० कित्ता माग भएको छ  । यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको १६ लाख ३७ हजार १८१ कित्ता र जिल्लावासीको ४४ लाख ७५ हजार ८५७ कित्ता रहेको छ । 

जिल्लावासीको लागि कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । आयोजना प्रमुख अमात्यका अनुसार अब अन्य सर्वसाधरणका लागि ७ देखि १० दिनभित्रमा शेयर खुल्ला गर्ने भएको छ । 

वि.सं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । विविध कारणले निर्माणमा ढिलाइ हुँदा समयमा काम सम्पन्न नभए पनि हाल आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । सो आयोजना ६ अर्बको लागतमा निर्माण सम्पन्न हुने जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया