ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बल्यो, करेन्ट लागेर ९ वर्षीय  बालकको मृत्यु

४ बर्ष अगाडि

जिल्लाको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिराले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिङ्गो गाउँपालिका अन्धकारमय बनेको थियो । सो गाउँपालिकामा मङ्गलबारदेखि बत्ती बलेको छ

गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा जीवन बिताउन बाध्य थिए । गाउँपालिकाको आठवटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

अविरल वर्षाले श्रृङ्गपथअन्तर्गत अजम्बरीमा पुनः पहिरा खसेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा अघिल्लो महिनाको वर्षात्ले जस्तै गरी क्षति पुगेको उनले बताए । वर्षाका कारण गाउँपालिकाका आठ घरमा पूर्ण क्षति भएको छ । उनले भने, “आंशिक क्षति भएका घरको तथ्याङ्क लिने काम भइरहेको छ ।” 

ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब दुई मिटर तल भाँसिएर क्षति भएको गाउँपालिकाले जनाएको छ । श्रृङ्गपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आवतजावतमा कठिनाइ भएको छ । यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएसँगै मानिसको आवतजावतमा कठिनाइ भएको छ । ऋषिङ, घिरिङ र भीमाद गरी तीन पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् । घरमाथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । त्यस्तै पहिराका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिए । पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग जोडदार माग गरिएको उनले बताए ।

यता सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ ।

गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि शव फर्काएर घरमा ल्याई राखिएको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा  ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया