काठमाडौं - प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १० जना सासंदहरूजाने भएका छन् ।
समाजवादी जाने एमाले सांसदहरूको आज प्रदेश निर्वाचन कार्यालय प्रदेश १, विराटनगरमा सनाखत गर्ने तयारी रहेको छ । एमाले छाडेर प्रदेश सांसदहरू समाजवादीमा थपिने क्रम बढ्ने देखिएको बताइएको छ ।
भदौ २२ गतेसम्म दल रोज्न पाइने भएकाले प्रदेश सांसदको संख्या थपिने बताइएको छ । आज बिहान साढे ११ बजे निर्वाचन कार्यालय जाने तयारी रहेको छ । समाजवादीमा आज १० जना सांसदहरूले सनाखत गर्ने गरी आवश्यक कागजात जुटाउने तयारी गरिएको प्रदेश सांसद उपेन्द्र घिमिरेले बताए ।
उनका अनुसार एकीकृत समाजवादी पक्षमा राजेन्द्र राई, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सरिता थापा खड्का, कृष्णकुमारी राई, सुनिता चौधरी, खिनु लङ्वा लिम्वु, पदमकुमारी गुरुङ र राजन राई छन् ।
एमाले विभाजनअघि माधव नेपाल पक्षमा १८ जना सांसद थिए । ८ जना सांसदहरू भीमप्रसाद आचार्य, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, बलबहादुर साम्सोहाङ, लछुमन तिवारी, सावित्री जोशी, होमकुमारी साँवा र यशोदा अधिकारीले एमालेमै रहने भएका छन् । नेता नेपालको साथ छाडेका आचार्य मुख्यमन्त्री र साम्सोहाङ र तिवारी अहिले मन्त्री छन् ।
५१ प्रदेश सांसदहरू मध्ये १० जना समाजवादीमा जाने देखिएपछि एमालेले नेपाली कांग्रेसलगायतका साना दलहरूसँगको छलफललाई तीव्रता दिएको छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् ।
प्रतिक्रिया