आर्थिक सङ्कट खेपिरहेको बार्सिलोना छाड्ने ग्रिजमान ११ औँ खेलाडी, एथ्लेटिको म्याड्रिडमा अनुबन्ध

४ बर्ष अगाडि

एजेन्सी - ला लिगा च्याम्पियन एथ्लेटिको म्याड्रिडले फरवार्ड एन्टोनी ग्रिजमानलाई बार्सिलोनाबाट एक वर्षका लागि ऋणमा पुनः अनुबन्ध गरेको छ । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ ।

फ्रेन्च खेलाडीले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । सन् २०१९ मा उनको १०.७ करोड पाउन्डको रिलिज क्लज तिरेपछि उनी बार्सिलोना पुगेका थिए । बार्सामा भने उनले १०२ खेलमा मात्र ३५ गोल गर्न सके । यसक्रममा उनले कोपा डेल रेको उपाधि मात्र जितेका छन् ।

आर्थिक सङ्कट खेपिरहेको बार्सिलोना छाड्ने उनी ११ औँ खेलाडी हुन् । बार्सिलोनाले आफ्नो क्लबका सर्वकालीन गोलकर्ता लियोनेल मेस्सीलाई समेत क्लब छाडेर जान दिन परेको थियो ।

गत सिजन एथ्लेटिकोले बार्सिलोनाबाट स्ट्राइकर लुइस सुवारेजलाई अनुबन्ध गरेको थियो । उनले डिएगो सिमिओनीको टोलीलाई ला लिगा जित्न मद्दत गरेका थिए । उता, चेल्सीले साउल निग्वेजलाई एथ्लेटिकोबाट एक वर्षका लागि ऋणमा अनुबन्ध गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया