काठमाडौं, नबिल इन्भेष्टमेन्टले भदौ २५ गतेदेखि नबिल ब्यालेन्स्ड फण्ड ३ निष्कासन गर्ने भएको छ । फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
निष्कासन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशतअर्थात् न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ ।
त्यस्तै, १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २९ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा सबै इकाई बिक्री नभएमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ ।
फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिन्छ । यो एक बन्दमुखी योजना हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
प्रतिक्रिया