काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन तथा नगद समेत करिब ६ लाख ५३ हजार चोरी भएको छ । आइतबार राति सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । चोरीमा संलग्नहरु फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
यस्तै अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बल बहादुर बिक छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ हजार ३ सय ५० केजी सिलबन्दी तथा लेबलिङ नगरिएको एसिड बरामद गरेको छ । पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट प्रहरीले ग।३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र केशव सिंहको साथबाट १ हजार केजी एसिड बरामद गरेको थियो । लेबलिङ नगरिएको र अनुमति नलिइकन गाडीमा एसिड लिएर उनीहरु पोखरा पुगेका थिए ।
पोखरा महानगरपालिका–२ मैरिया टोलस्थित अभिषेक औजार पसलबाट अनुमति बिना बेच्न राखिएको थप ३ सय ५० केजी एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका मध्येका ६३ वर्षीय बलबहादुर बिक सो औजार पसल सञ्चालक हुन् ।
आरोपीहरुलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ बमोजिम म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रतिक्रिया