अध्यक्षद्धय ओली–प्रचण्डको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ : गजुरेल

७ बर्ष अगाडि

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने स्पष्ट पारेका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ ।’ उनले बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गरेको जिकिर गरे । उनले भने,‘वामदेवजीको सुझावमा पीडाहरु छन् । असन्तुष्टिहरु छन् । त्यो भनेको त भावनाको कुरा हो । त्यसलाई सम्बोधन गर्नुपर्छ ।’ 

उनले पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको सुनाए । उनले भने,‘कम्तिमा पनि २० मिनेटको पर्याप्त समय लिएर हामी नेताहरुले आ–आफ्नो कुरा राख्यौं । हामीले आफ्ना कुराहरु खुलेर राखेका छौं । यो बैठकसँगै हामी अब सम्भावना पहिल्याउन र चूनौतिहरु सामना गर्न सफल भएका छौं ।’ 

उनले अब पार्टी एकताबद्ध भएर अघि बढनेपनि विश्वास दिलाए । स्थायी समिति बैठकमा मन्त्रीहरु फिर्ता बोलाउने भन्नेबारे पनि नेताहरुले आवाज उठाउनुभएको थियो अरे नि भनेर सोधेको प्रश्नमा उनले भने,‘सरकारलाई सफल बनाउनुपर्छ । प्रधानमन्त्रीलाई काम गर्नको लागि आरामदायी वातावरण बनाउनुपर्छ भन्ने कुरा आएका छन् । यो उहाँले निर्णय गर्ने कुरा हो ।’

फरक प्रसँगमा गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दूराष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाए । उनले आक्रोश पोखे,‘कांग्रेसलाई उल्टो बुद्धि आएको छ । राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ । विपीको छोराले हिन्दूराष्ट्रको कुरा उठाउनुभयो, यसले उहाँको क्रेज घटाईदिएको छ ।’ उनले हिन्दूराष्ट्रको कुरा उठाएकोमा कांग्रेसलाई प्रश्न गर्दै भने,‘फेरी २०१७ सालको वातावरण बनाउन खोजेको हो ?’

काठमाडौंमा हालै सम्पन्न भएको एशिया प्यासिफिक समिटमा सरकारले भाग लिएर गलत गरेको भनेर बाहिर आलोचना भएकोप्रति टिप्पणी गर्दै उनले भने,‘कम्युनिष्ट सरकार गठन भएकोमा धेरैलाई चित्त बुझेको छैन, त्यही भएर सरकारको आलोचना भैरहेको छ ।’ उनले एशिया प्यासिफिक समिट धार्मिक कार्यक्रम नभएको पनि जिकिर गरे । यद्धपी उनले यसमा सरकार सहभागी हुनुहुन्थ्यो कि हुँदैनथ्यो भन्नेबारे अहिलेपनि पार्टीमा छलफल जारी रहेको सुनाए । 

गजुरेलले एशिया प्यासिफिक समिटबारे सरकारलाई बढाईचढाई गरेर आरोप लगाउने काम नियोजित रुपमा भएपनि पनि बताए । पार्टीसँग सल्लाह नगरी सरकार चलेको भन्ने गुनासो पनि नेताहरुले गरेको उल्लेख गर्दै उनले यसबारेमापनि बैठकमा पर्याप्त छलफल भएको जनाए ।

७ बर्ष अगाडि

प्रतिक्रिया