पहिरोले थप सात घर पुरिए, म्याग्दीका १३४ घरमा पूर्ण क्षति

४ बर्ष अगाडि


विगत पाँच दिनदेखि परेको वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात घर पुरिएका छन्। आइतबार बिहान ६ बजेदेखि बुटवल वडा नं। ३ ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरो अहिलेसम्म रोकिएको छैन।

आइतबार स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो झरेकोमा सोमबार थप सात जनाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन्। 

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ। अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ।


यस्तै केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक÷एक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा) र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ । 

नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताए । भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताए । 

बर्षासँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा आज बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस बर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा तीन जनाको मृत्यु, १० जना घाइते र १३४ घरमा पूर्ण क्षति भएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले पहिरो, बाढी र कटानले घरमा क्षति पुग्दा एक हजार ४०० जना घरबासविहीन भएका छन् । 

त्यस्तै १३ घरमा आंशिक, १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा परेका छन् । दुई वटा गोठमा आंशिक, २ वटामा पूर्ण क्षति र १७४ वटा पशुचौपाया मरेका छन् । बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक÷एक वटा विद्यालय भवनमा क्षति पुगेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले बेनीसहित, दरबाङ, बाबियाचौर, सिञ्गा तातोपानी, भुरुङ–तातोपानी, राहुघाट, गलेश्वर क्षेत्रलाई बाढी र कटानको जोखिम क्षेत्रमा राखेको छ । अन्नपूर्ण गाउँपालिकाको धस्केखोरीया, बेनी नगरपालिकाको मसार, दूधेखोला मालिकाको रुम, धवलागिरिको लुलाङलगायतका ठाउँमा बाढीपहिरोको जोखिम छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया