काठमाडौं - केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् ।
बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक/एक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री ९सापकोटा० र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ ।
नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताए । भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताए ।
बर्षासँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा आज बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् ।
प्रतिक्रिया