काठमाडौं - प्रदेश एकका नवनियुक्त मुख्यमन्त्री भीम आचार्य सत्ता सम्हालेकै दिन अल्पमतमा परेका छन् ।एमाले विभाजनको प्रभावले मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् ।
निर्वाचन आयोगले एमालेबाट अलग भएको माधव समूहलाई भदौ ९ मा आधिकारिकता र दर्ता प्रमाणपत्र दिएपछि एमालेको केन्द्रमा मात्र नभएर प्रदेशमा पनि समीकरण फेरिएको हो । प्रदेश एकमा एमाले टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्व प्रदेश सांसद राजेन्द्र राईले गरेका छन् ।
केही दिनअघिनै सांसद राईले सामाजिक सञ्जालमार्फत् चार सांसदले प्रदेश सरकार ढाल्न सकिने अभिव्यक्ति दिएका थिए। एमालेभित्र प्रभावशाली मानिएका उनी सत्ता परिवर्तनको खेलमा कसिएर लागेका छन् ।
प्रदेश सांसद राजेन्द्र राईको नेतृत्वमा विभाजित दलका सांसद सामेल हुने देखिएकाले आचार्यले विश्वासको मत लिनुपर्ने भएको हो । एमालेका ५१ सांसदमध्ये एक सभामुख र १ जना फौजदारी अभियोगमा फरार छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।
त्यसका लागि राजेन्द्र राईले नेतृत्व गरेको नेकपा ९एकीकृत समाजवादी० मा चारजना सांसदको समर्थन नरहे आचार्यले समर्थन पाउने सम्भावना देखिँदैन । केन्द्रदेखिकै सत्ता समीकरणमा जनता समाजवादी पार्टी पनि गठबन्धनमै छ । एमालेका चार सांसदले आचार्यलाई समर्थन नगरे पुनः नयाँ सरकारको बाटो खुला हुने देखिएको छ ।
नेकपा एकीकृत सामाजवादीका सांसद उपेन्द्र घिमिरेले आफूसहित १० जना सांसद नयाँ पार्टीमा खुलेर लागिसकेको र अन्य तीनजना सांसद आउने क्रममा रहेको दाबी गरे ।
उनका अनुसार १० सांसदहरूमा राजन राई खोटाङ, गणेश काम्बाङ पाँचथर, राजेन्द्र राई भोजपुर, खिला लंवा लिम्बु इलाम, सरिता थापा संखुवासभा, पदमकुमारी गुरुङ संखुवासभा, सावित्री रेग्मी मोरङ, कृष्णकुमारी राई मोरङ, सुनिता चौधरी उदयपुर रहेका छन्।
प्रतिक्रिया