सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्नसकिने क्षमता रहेको छ । सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताए ।
तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको बताउँदै चाँडैनै अस्पतालमा जडान गरिने उनले बताए । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको र ढलानको काम मात्र बाँकी रहेकाले छिट्टै नै अक्सिजन प्लान्ट स्थापना गरिने जनाइएको छ ।
यहाँ अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरी जिल्लासहित उदयपुर, सिरहा र सुनसरीसहितका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा झाले बताए । हाल अस्पतालमा सात वटा भेन्टिलेटरसहित १५ श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।
यस्तै धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ ।
अस्पतालको स्तरवृद्धि गरी २०० श्याको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ श्ययालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७सख्त बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।
अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि रू तीन करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा रु दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कंपनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए ।
चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले रु २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ थियो । भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न सङ्घीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । दुई वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको रु ९० लाखको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।
अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ श्याको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ ।
प्रतिक्रिया