अमेरिकाले पठायो  ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण

४ बर्ष अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका र अमेरिकी रक्षा मन्त्रालयबीच महामारी र आपत विपतको समयमा नेपाल र नेपालीलाई सहयोग गर्ने सहमति भएअनुरुप स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल पठाइएको छ ।

सहमति भएको दुई सातामै एनआरएनएले अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पु¥याउने लक्ष्यकासाथ तीन करोड १६ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो । शुक्रबार अमेरिकाको युटाह राज्यको साल्ट लेक सिटीबाट ४।८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको छ । 

एनआरएनए अमेरिका र अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत अमेरिकी सेनामार्फत सहयोग सामग्री ढुवानीमा सहमति भएअनुरुप अमेरिकी सेनाको जहाजले ती स्वास्थ्य उपकरण र सामग्री लिएर उडान भरेको हो ।

गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी र कोषाध्यक्ष राजीव श्रेष्ठले अमेरिकी रक्षा मन्त्रालयमा यस सम्बन्धी सहमतिका लागि पहल गरेका थिए । सबै पक्षबाट अनुसन्धान गरेपछि अमेरिकी रक्षा मन्त्रालयले नेपाल र नेपालीलाई आपत विपत र महामारीमा सहयोग गर्ने गरी सहमति गरेको हो ।

गैर आवासीय नेपाली संघ अमेरिकाले अक्सिजन कन्सनटेटर  ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाब टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ती सामग्री नेपाल पठाएको हो ।

स्वास्थ्य उपकरण र सामग्री अगष्ट ३१ तारिखमा नेपाल पुग्ने जनाइएको छ । नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी काठमाडौं गइसकेको र स्वास्थ्य मन्त्रालयलाई ती सबै सामान हस्तान्तरण गर्ने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया