रोनाल्डोको बर्हिगमनपछि च्याम्पियन्स लिग जित्न नसकेको युनाइटेडले पुनरागमनपछि जित्ला ?

४ बर्ष अगाडि

एजेन्सी - रोनाल्डोको जन्म पोर्चुगलको मेडिइरा टापूस्थित साओ पेड्रो, फुन्चलमा भएको थियो । उनका बाबु हलिउड अभिनेता तथा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनका ठूलो फ्यान थिए ।  त्यसैले उनले आफ्ना छोराको नाम रोनाल्डो जुराए ।  

रोनाल्डोले एन्डोरिना नामक एम्योचर क्लबबाट आठ वर्षको उमेरमै फुटबल खेल्न थालेका थिए । यही क्लबमा उनका बाबु किटम्यान अर्थात् खेलाडीका सामाग्रीहरु ओसार्ने सहयोगीका रुपमा काम गर्थे ।

रोनाल्डोले २००२/२००३ को सिजन स्पोर्टिङ सिपीबाट खेलेका थिए । इंग्लिस फुटबलमा  सबैभन्दा पहिले उनको प्रतिभा पहिचान गर्ने श्रेय आर्सनलका प्रशिक्षक आर्सेन विंगरलाई जान्छ । उनले रोनाल्डोलाई भित्र्याउने योजना बनाइरहेका थिए ।
 
यही समय म्यानचेस्टर युनाइटेडको टिम मैत्रीपूर्ण खेल खेल्न स्पेर्टिङ सिपीको घरेलु  मैदानमा पुग्यो । यस खेलमा रोनाल्डोको प्रदर्शनबाट प्रभावित भएपछि युनाइटेडका स्टार खेलाडीहरु रायन गिग्स र रियो फर्निडान्डले तत्कालीन प्रशिक्षक एलेक्स फर्गुसन समक्ष उनलाई अनुबन्ध गर्न प्रस्ताव गरे ।  र, आर्सेन विंगरभन्दा उक कदम अघि बढेर १ करोड २२ लाख ४० हजार पाउन्डमा रोनाल्डोलाई फर्गुसनले युनाइटेड भित्र्याए । 

उनले क्लबमा भित्र्याउनसाथ रोनाल्डोलाई ७ नम्बरको जर्सी दिएका थिए । जर्सी नम्बर ७ सधैं युनाइटेडका लागि विशेष छ, किनकि विगतमा एरिक क्यान्टोना र डेभिड बेकह्यामले पनि यही जर्सी लगाएका थिए । १८ वर्षका रोनाल्डो निकै मेहेनती थिए ।

रोनाल्डोले २००६ को सुरुवातमा १२ र २००७ मा २३ गोल गरिसकेका थिए । २००७–४८ को सिजन रोनाल्डोले ४२ गोल गरे । यसै सिजन म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग र इंलिस प्रिमियर लिग जित्यो । र, रोनाल्डोले फिफा वर्ष खेलाडी तथा बेलोन डि’अर जिते । रोनाल्डोले आफ्नो ६ वर्षे वल्ड ट्राफोड बसाईका क्रममा १ सय ९२ खेलमा १ सय १८ गोल गरे । पूर्व प्रशिक्षक एलेक्स फर्गुसनका अनुसार उनले प्रशिक्षण दिएका खेलाडीमध्ये रोनाल्डो सबैभन्दा उत्कृष्ट हुन् ।

रोनाल्डोलाई फर्गुसनले नै २००९ मा विश्व कीर्तिमानी मूल्य ८ करोड पाउन्डमा रियल म्याड्रिडमा बेचे । त्यसपछि युनाइटेडले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन ।  यता, रोनाल्डोले रियललाई चारवटा च्याम्पियन्स लिग र दुईवटा ला–लिगा उपाधि जिते । रियलमा चार पटक बेलोन डिअर जितेर रोनाल्डोले यो व्यक्तिगत अवार्ड पाँचपटक आफ्नो नाममा लेखाएका छन् । 

उनी रियलबाट २०१८ मा युभेन्टस्मा आबद्ध भए । युभेन्टस्मा उनले दुईपटक इटालियन सिरिए जिते, तर च्याम्पियन्स लिग जित्न सकेनन् । र, भर्खरैमात्र रोनाल्डो फेरि म्यानचेस्टर युनाइटेड फर्कने भएका छन् । युनाइटेडले  उनलाई १ करोड २८ लाख पाउन्ड खर्चेर क्लबमा भित्र्याउने सहमति युभेन्टस्सँग गरिसकेको छ । 

उनी म्यानचेस्टर छाड्दा २४ वर्षका थिए, अहिले ३६ वर्षको भइसकेका छन् । यस अवधिमा उनले जितेका उपाधि संख्या ३० पुगिसक्यो । रोनाल्डोले पोर्चुगललाई २०१६ मा आफ्नै कप्तानीमा युरोकप जिताएका थिए । 

२०१७ यता युनाइटेडले कुनै उपाधि जित्न सकेको छैन । २०१२–१३ को सिजनपछि उसले इंग्लिस प्रिमियर लिग जित्न सकेको छैन । अब युनाइटेडलाई रोनाल्डोले फेरि च्याम्पियन्स लिग र प्रिमियर लिग जिताउँछन् ? यी प्रश्नको जवाफ समयले नै दिनेछ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया