पृथ्वीराजमार्ग सञ्चालनमा आयो, २४ घण्टा बित्दासमेत अझै खुल्न सकेन सिद्धार्थ राजमार्ग

४ बर्ष अगाडि

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास–३ मादी पुल नजिकै खसेको पहिरो हटाएपछि राजमार्ग सञ्चालन भएको छ । केही दिनदेखि परेको वर्षाका कारण आज बिहान खसेको पहिरो हटाएर राजमार्ग सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट खसेको पहिराले बाटो दुईतर्फी अवरुद्ध भएकामा स्काभेटरको प्रयोग गरी पहिरो सफा गरिएको प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । उनका अनुसार सवारीको चापलाई मध्यनजर गरी एकतर्फी राजमार्ग सञ्चालन गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाका अन्य ठाउँमा भने अहिलेसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।

यस्तै  सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान खसेको पहिरोले पाल्पा–बुटबल सडकखण्ड अवरुद्ध भएको थियो । आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँसोदेखि नियमित रुपमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो  ।

४ बर्ष अगाडि

प्रतिक्रिया