अभिनेत्री साम्राज्ञीसंग आधा दर्जन फिल्म पाइपलाइनमा,भदौ १५ गतेबाट सुटिङ सुरु

४ बर्ष अगाडि

काठमाडौं, फिल्म ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि फिल्म क्षेत्रले साम्राज्ञी आरएल शाहलाई नायिकाको स्टारडमको भ्याकुम पूरा गर्ने अभिनेत्रीको रुपमा हेरेको थियो । यी दुई फिल्मबाट उनले आफ्नो स्टारडम प्रमाणित गरेकी थिइन् । उनको नामैले फिल्म चल्छ भन्ने विश्वास त्यसबेला फिल्ममेकरमा देखिएको थियो । यसैले उनलाई हिरो बारबार पारिश्रमिक दिन समेत निर्माताहरु तयार भए ।
 
तर, उनले आफ्नो लोकप्रियता र स्टारडमलाई बुझ्न सकिनन् । श्रृंखलाबद्ध विवादले उनको क्रेजमा ठूलो धक्का पुगेको छ । उनी तालीभन्दा गालीको धनी भएकी छन् । कहिले प्रेमीसँगको तस्विरले होस् वा कहिले प्रशंसकलाई चिड्याउने अभिव्यक्तिका कारण उनी विवाद र आलोचनाबाट टाढा बस्न सकेकी छैनन् । 
 
उनी अभिनीत पछिल्लो दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ बक्सअफिसमा नमज्जाले पिटियो । यसको कारण साम्राज्ञीको श्रृंखलाबद्ध विवादलाई मानिएको छ । तर, फिल्म असफल भए पनि उनीमाथि निर्माताको विश्वास अझै घटेको छैन । उनको पाइपलाइनमा अहिले पनि आधा दर्जन फिल्म छन् । 

यही भदौ १५ गतेबाट उनी कपिल रिजालको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्दैछिन् । यसमा उनको जोडी कलाकार जितु नेपालसँग बाँधिएको छ । योसँगै उनको पाइपलाइनमा हेमराज विसी, मिलन चाम्स र प्रवेश पौडेलको फिल्म पनि छ । यसरी हेर्दा विवादले उनको मागमा कुनै कमी आएको देखिन्न ।

४ बर्ष अगाडि

प्रतिक्रिया