काठमाडौं - निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।
ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । अहिले पनि पहिरो हटाउने क्रम जारी छ ।
प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो । यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सञ्चालन भएको थियो ।
यस्तै सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।
पानी परिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ सिद्धबाबा, सिसुवा, तिनाउ–५ हिउँदेखोला, केराबारी, जरेपीपल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
यस्तै तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, सेरा र रम्भा गाउँपालिका–३ सीतापहाडमा पहिरो खसेको छ । त्यस्तै तानसेन–रिडी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सडक अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या परेको छ । अवरुद्ध बनेका सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया