४ महिनादेखि रोकिएको लाइसेन्सको ट्रायल भदौ १८ गतेदेखि खुला, यस्ता छन् मापदण्ड

४ बर्ष अगाडि

काठमाडौं, यातायात व्यवस्था विभागले लकडाउनका कारण ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल भदौ १८ गतेदेखि खुला गर्ने भएको छ ।

विभागले भदौ १७ गते बिहीबारदेखि सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको हो ।

काठमाडौँ उपत्यकामा भदौ १८ गते र उपत्यका बाहिर १५ दिनपछि चालक अनुमतिका लागि ट्रायलको लिखित तथा प्रयोगात्मक परीक्षा शुरु हुने जानकारी दिए ।

हाल विभागमा कोभिडका कारण रोकिएको करिब ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । यी परीक्षार्थीको ट्रायल पूरा गर्न देशभरिका २१ वटा यातायात कार्यालयबाट ६ लाखको परीक्षा सञ्चालन गर्नका लागि ४ देखि ५ महिना लाग्न सक्ने विभागको अनुमान छ ।

अहिले पनि कोभिड महामारी कायम नै रहेकाले विभागले नयाँ आवेदन भने तत्काल नखुलाउने भएको छ । 

विसं २०७६ चैत्रबाट पहिलो चरणको निषेधाज्ञापछि विभागले २०७७ पुस १४ गतेबाट डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी खुलाएका थियो । दोस्रो चरणको निषेधाज्ञासँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

विभागले कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७८ लागू गरेको छ ।

मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आभारमा एक सिफ्टमा बढीमा १०० जना परिक्षार्थीको परीक्षा गराउने सकिनेछ ।

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।

यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया