पूर्व खेलाडी रोनाल्डो फर्किने भएपछि युनाइटेडको मार्केट भ्यालुमा अपत्यारिलो छलाङ, सेयरको मूल्य वृद्धिमा कीर्तिमानी

४ बर्ष अगाडि

एजेन्सी - पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्सबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएसँगै उक्त क्लबको मार्केट भ्यालु ह्वात्तै बढेको छ ।

शुक्रबार राति मात्र इटालियन सिरी ए क्लब युभेन्ट्सबाट युनाइटेडले आफ्ना पूर्वखेलाडीलाई अनुबन्ध गरेको खबर सार्वजनिक भएसँगै युनाइटेडको मार्केट भ्यालुले अपत्यारिलो छलाङ मारेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । 

रोनाल्डो अनुबन्धको घोषणा गरेको मात्रै एक घन्टाभित्र इंग्ल्यान्डको स्टक मार्केटमा म्यानचेस्टर युनाइटेडको सेयर मूल्य २ सय १२ मिलियन पाउन्ड पुगेको जनाइएको छ । युरोपको स्टक माकर्टेमा कुनै पनि फुटबल खेलाडीको स्थान्तरणपछि छोटो समयमा यति धेरै सेयरको मूल्य बढेको यो नै कीर्तिमानी रहेकोसमेत उल्लेख गरिएको छ ।

शुक्रबार इंग्ल्यान्डको स्टक मार्केट खुला हुँदा म्यानचेस्टर युनाइटेडको प्रतिसेयर मूल्य १२।६२ पाउन्ड थियो । त्यसबेला रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने कुनै चर्चा नै शुरू भएको थिएन । जब रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने पक्का भएको खबर बाहिरियो त्यसपछि स्टक मार्केटमा क्लबको सेयर मूल्य सुरूआती एक घन्टाको बीचमा १२।६२ पाउन्डबाट १३।८७ पाउन्ड पुगेको बताइएको हो । 

यो आंकडा कुल सेयर संख्याका आधारमा क्लबको मार्केट भ्यालुको कुल २ सय १२ मिलियन पाउन्डले वृद्धि भएको हो । मात्रै एक घन्टामा युनाइटेडको मार्केट भ्यालु २ सय १२ मिलियन पाउन्डले बढ्नु भनेको नेपाली रुपैयाँमा झन्डै ३४ अर्ब ५७ करोडभन्दा बढीले वृद्धि हुनु हो । यो क्रममा अझै बढ्ने फुटबल विश्लेषकहरूले दाबी गरेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया