ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, खुकुरी प्रहार गरी  श्रीमतीको हत्या

४ बर्ष अगाडि

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उत्तरतर्फ जाँदै गरेको को२त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को१४प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यस्तै भोजपुर षडानन्द नगरपालिका (९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । 


शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।

त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । 


स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए । 

घटनास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया