इन्डोनेसियामा सुनामी आएपछिको अवस्था, तस्विरमा हेर्नुहोस्

७ बर्ष अगाडि

एजेन्सी – इन्डोनेसियाको सुन्डा खाडीमा सुनामीको चपेटमा परेर मृत्यु हुनेको संख्या २८१ पुगेको छ भने घटनामा १ हजारभन्दा बढी घाइते रहेका छन् ।

सरकारी अधिकारीहरुका अनुसार शनिबार राती क्राकातोआ ज्वालामुखी विस्फोट भएपछि समूद्रका तल्लो भागमा भूस्खलन भएको थियो ।

यसबाट उठेको पानीको अग्लो लहरले तटीय क्षेत्रमा तबाही मच्चायो । दक्षिणी सुमात्राको किनारमा रहेका कयौँ घरहरु क्षतिग्रस्त बने ।

सुन्डाको तटीय क्षेत्रमा अझै पनि अर्को सुनामी आउने खतरा रहेको बताइएको छ । बेलायतको पोर्टस्माउथ विश्वविद्यालयका प्राध्यापक रिचर्ड टियूका अनुसार क्राकातोआ ज्वालामुखी अहिले पनि सक्रिय रहेको छ । यसको कारण अझै भूस्खलन हुने खतरा रहेको उनको भनाई छ ।

यो ज्वालामुखी सन् १८८३ मा विस्फोट पश्चात अस्तित्वमा आएको थियो । त्यतिबेला ३६ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

उद्धारकर्ताहरुले मृतकको संख्या बढ्न सक्ने बताइरहेका छन् । 

सुन्डा खाडीले इन्डोनेसियाको जावा र सुमात्रा द्वीपलाई जोड्छ । सुमात्राको दक्षिणी लाम्पुङ्ग र जावाको सेराङ पान्देलाङमा सबैभन्दा धेरै क्षति पुगेको छ ।

तीन महिनाअघि मात्र भूकम्प र सुनामीको कारण इन्डोनेसियाको सुलावेसी द्वीपस्थित पालु र दोङ्गला सहरमा ८ सय ३२ जनाभन्दा बढीको मृत्यु भएको थियो ।

त्यस्तै, १४ वर्षअघि सन् २००४ मा इन्डोनेसियाको सुमात्रामा ९.३ म्याग्निच्युडको भूकम्प आएको थियो । जसको कारण हिन्द महासागरको तटीय क्षेत्र भएका देश सुनामीको चपेटामा आएका थिए । जसमा विश्वभर २.२० लाखको मृत्यु भएको थियो जसमध्ये १.६८ लाख इन्डोनेसियाका मात्र थिए ।

‘रिङ्ग अफ फायरमा रहेको इन्डोनेसिया विश्वकै सबैभन्दा धेरै प्राकृतिक विपत्ति भोग्ने देशमा पर्दछ । यस देशको जमिनमुनि रहेको टेक्टोनिक प्लेट एक आपसमा टक्राउने हुँदा यहाँ भूकम्प र ज्वालामुखी विस्फोटमा घटनाहरु बढी हुने गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया