हराएका २४ मोटरसाइकल फेला, ८९ फरार आरोपी पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताए । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ । 

मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुशी, टोखा, पाटन अस्पताललगायतका स्थानबाट हराएका हुन् । महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् ।

चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए । साथै जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् ।
 
कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिए । 

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको उनले बताए । पक्राउ परेका उनीहरुबाट तीन वर्ष एक महिना पाँच दिन कैद तथा रु १३ लाख ७० हजार १२३ जरिवाना असुली गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया