काठमाडौ - बाढी र पहिरोले देशैभरि हजारौं घर डुबानमा परेको छ । कैयौं पशु चौपायाहरू मरेका छन् । पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ । तराईका बस्तीहरू बाढीले डुबेका छन् ।
घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ । शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन् । दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीपको ज्यान गएको छ ।
घरमा पानी पसेपछि छिमेकीको घरमा जाँदै गर्दा उनको मृत्यु भएको थियो । उदयपुर कटारी नगरपालिका २ मिलन चोककका ७ वर्षीय कर्ण मगरको पहिरोमा परेर मृत्यु भएको छ । महोत्तरीमा रातु खोलाको बाढीले बाँध भत्काउँदा वलवा—तिलगढमा ९ सय घर डुवानमा परेका छन् । ४ हजार ५ सय मानिस घरबारविहीन बनेका छन् ।
धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ । चुरेबाट तराई भू—भागमा बग्ने एक सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन् ।
प्रतिक्रिया